Ramkeshar’s World

A Complete Website

बाँझोपनको पनि उपचार हुन्छ


सिन्धुलीकी २४ वर्षीया रुक्मिणीको विवाह भएको दुई वर्षसम्म पनि सन्तान नभएपछि विभिन्न ठाउँमा भाकल गर्नुका साथै औषधि उपचार पनि सुरु गरियो तर सन्तान भएनन्। स्वास्थ्य परीक्षण गर्दा उनमा कुनै खोट नभेटिएपछि पतिलाई पनि परीक्षणका लागि बोलाइयो तर शिक्षण पेसामा
संलग्न उनका पतिले आफ्नो कुनै कमजोरी नभएकोले परीक्षणको जरुरत नै नपर्ने जिद्दी कसे। विवाह भएको ५ वर्षसम्म पनि सन्तान नभएपछि अरुको सल्लाहमा रुक्मिणीका पतिले अर्की विवाह गरे तर दोस्रो विवाह गरेको ३ वर्षमा पनि कुनै सन्तान नभएपछि बल्ल उनी जँचाउन गए।
स्वास्थ्य परीक्षण गर्दा उनको शुक्रवाहिनी नली (शुक्रकीट बहने नली) बन्द भएको पत्ता लाग्यो। बन्द नलीको उपचारपछि उनका दुवै पत्नीबाट सन्तान भए तर आफ्नै अहम् र गल्तीका कारण दुईवटी पत्नीको लोग्ने बन्नुपरेकोमा उनलाई ग्लानि र पछुतो भयो। तर उनले सच्याउन नसकिने ठूलो भूल गरिसकेकाले पछुतो मान्नुको कुनै तुक थिएन।
रुक्मिणी दम्पतीको जस्तै समाजमा धेरै मानिस बाँझोपन र यससँग सम्बन्धित अज्ञानता र अन्धविश्वासका कारण अनेक सामाजिक समस्या झेलेर बसिरहेका छन् भने केहीले बेलैमा उपचार गरी सन्तान पनि प्राप्त गरिरहेका छन्।
सामाजिक समस्याको रुपमा बाँझोपन
बाँझोपन विश्वव्यापी समस्या हो। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका करिब ८ देखि १२ प्रतिशत मानिसले प्रजनन उमेरमा बाँझोपनको समस्याको अनुभव गर्छन्। नेपालमा बाँझोपनको समस्या कुन स्थितिमा छ भन्नेबारे विस्तृत अध्ययन नभए तापनि लगभग यस्तै स्थितिमा रहेको सम्बद्ध विज्ञहरुको अनुमान छ। अध्ययनअनुसार करिब ६ प्रतिशत नेपालीमा बाँझोपनको समस्या रहेको नेपाल परिवार नियोजन संघका कार्यक्रम निर्देशक डा. गिरिधारी शर्मा बताउनुहुन्छ। बाँझोपन महिला र पुरुष जसलाई पनि हुन सक्ने भए तापनि नेपालमा अज्ञानता र अन्धविश्वासका कारण यो समस्या महिलाहरुलाई नै हुन्छ भनेर लान्छना लगाउने गरिएको छ। यसले गर्दा विनाकारण धेरै महिलाले हीनताबोध र पारिवारिक तथा सामाजिक उपेक्षा खेप्नुपरिरहेको पाइन्छ।
बाँझोपनको उपचारमा सम्लग्न निःसन्तान केन्द्रका प्रमुख डा. उमा श्रीवास्तव भन्नुहुन्छ- ँविवाह गरेको एक-दुई वर्षमा सन्तान भएन भने महिलालाई दोषी ठहर्‍याउने, अपहेलना गर्ने र उपचारका लागि महिलालाई नै पठाउने गरिन्छ। तर समस्या महिला-पुरुष दुवैलाई हुन सक्ने भएकाले दुवैलाई सँगै बोलाएर सोधपुछ, परीक्षण र आवश्यकताअनुसार उपचार गर्ने गरिएको छ।’
बाँझोपनको दोष महिलालाई मात्र दिने सामाजिक कुपरम्पराका साथै नेपालको कानुनले समेत यससम्बन्धमा भेदभावपूर्ण व्यवहार गरेको छ। यदि विवाह गरेको १० वर्षसम्म जीवित बच्चा जन्मेको छैन भने उनको पतिले विवाह गर्न पाउने व्यवस्था छ। नेपालको वर्तमान कानुनले पनि बाँझोपनको समस्या पुरुषमा पनि हुन सक्छ भन्ने सत्यतातर्फ ध्यान पुर्‍याएको पाइँदैन।
नेपाल परिवार नियोजन संघका कार्यक्रम निर्देशक डा. गिरिधारी शर्मा भन्नुहुन्छ- ँबाँझोपन हुँदा पुरुषको परीक्षण नै नगरी महिलाको मात्र परीक्षण गर्ने, महिलालाई बहिष्कार गर्ने, कमजोर पार्ने, अर्की विवाह गर्ने कुसंस्कार छ, यसले ठूलो सामाजिक समस्या ल्याइरहेको छ। सहरी क्षेत्रमा दुवैले उपचार गर्ने चलन आए तापनि ग्रामीण क्षेत्रमा उपचारै नगरी विवाह गर्ने चलन अझै विद्यमान छ।’ बाँझोपनको समस्या आएमा दुवैको उपचार गर्दा अधिकांशको सन्तान हुन सक्ने दृष्टिकोण राखी नेपाल परिवार नियोजन संघले आफ्ना कार्यक्रम सञ्चालन गरिरहेको डा. शर्माले जानकारी दिनुभयो।
वास्तवमा बाँझोपनको समस्या महिला र पुरुष दुवैलाई हुन सक्छ। अहिलेसम्मको अध्ययनअनुसार बाँझोपनको ३५ प्रतिशत कारणहरु महिलामा र ३५ प्रतिशत नै कारण पुरुषमा पाइएको छ। बाँकी ३० प्रतिशत कारण महिला-पुरुष दुवै -दम्पती)मा वा कारण नै पत्ता नलागेको स्थिति छ।
यस्तो स्थितिमा बाँझोपनको कारण महिलालाई मात्र थोपर्नु कदापि उचित होइन। यसले बाँझोपनको समस्यालाई अझ लम्ब्याउँछ र महिलाहरुको मान मर्दन गर्छ। त्यसकारण बाँझोपनको अनुभव हुनासाथ दम्पतीले नै संयुक्तरुपमा स्वास्थ्य परीक्षण गराई सन्तान प्राप्तिको प्रयास गर्नु बुद्धिमानी हुन्छ।
बाँझोपनसम्बन्धमा राम्रो जानकारी नभएका कारण पनि यो एउटा सामाजिक समस्याको रुपमा देखा परेको छ। सरकार र समाजले यसलाई त्यति महत्त्व नदिएको र सूचना प्रवाहमा कमी भएकाले बाँझोपनको उपचारको सम्भावना र उपचार गर्ने स्थानका बारेमा सर्वसाधारणमा राम्रो जानकारी छैन।
बाँझोपनको उपचार विभिन्न सरकारी अस्पतालहरुमा हुने भए तापनि जनस्वास्थ्यका दृष्टिले जनचेतना जगाउने, रोकथाम गर्ने, प्रचारप्रसार गर्ने सरकारी कार्यक्रम हाल नभएको स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाकी स्त्रीरोगविज्ञ डा. शीलु अर्याल बताउनुहुन्छ।
नेपाल परिवार नियोजन संघले आफ्नो कार्यक्रम क्षेत्रमा सन् २००५ मा गरेको एक अध्ययनअनुसार १८.५ प्रतिशत प्रजनन उमेरका मानिसले बाँझोपनका बारेमा थाहा नपाएको बताएका थिए। यसमध्ये ७४ प्रतिशत पुरुष र ८९.४ प्रतिशत महिलाले मात्र यसबारेमा जानकारी पाएको बताएका थिए। त्यस्तैगरी ६८.३ प्रतिशत किशोर र ८५.८ किशोरीले यसबारेमा थाहा पाएको बताएका थिए। यसले बाँझोपनका बारेमा महिलालाई भन्दा पुरुषलाई कम ज्ञान भएको थाहा हुन्छ । त्यस्तैगरी २० प्रतिशत पुरुष र २६ प्रतिशत महिलालाई मात्र बाँझोपनको उपचार हुन सक्छ भन्ने थाहा भएको सर्वेक्षणमा पाइएको थियो। यी तथ्यांकले बाँझोपनसम्बन्धमा जनचेतनाका कार्यक्रमको अभाव महसुस हुन्छ।
गर्भनिरोधक कुनै पनि साधन प्रयोग नगरेको र सन्तान प्राप्तिका लागि लगातार दुई वर्षसम्म प्रयत्न गर्दा पनि सन्तान भएन भने यस्तो अवस्थालाई बाँझोपन भनिन्छ। विश्व स्वास्थ्य संगठनले विकसित देशमा एक वर्षर विकासोन्मुख मुलुकमा २ वर्षसम्म स्त्री-पुरुषसँगै बस्दा पनि सन्तान नभएको अवस्थालाई बाँझोपनको दायराभित्र राखेको छ। प्रजनन उमेरका स्त्री-पुरुषले एक वर्षसम्म लगातार प्रयत्न गर्दा पनि सन्तान नभएमा त्यस्ता दम्पतीले उपचारको सोचविचार गर्नु उपयुक्त हुन्छ।
परिवार स्वास्थ्य महाशाखाका अनुसार सामान्यतया गर्भनिरोधका साधन प्रयोग गरेको छैन र गर्भ रोक्नका लागि कुनै विधि पनि अपनाइएको छैन भने विवाह गरेको ६ महिनाभित्र ८५ प्रतिशत महिला गर्भवती हुन्छन् र एक वर्षभित्र प्रायः सबै महिला गर्भवती हुन्छन्। कतिपय महिलाहरुचाहिँ गर्भधारण गरे पनि विविध कारणले भ्रूण खस्ने समस्याबाट पीडित हुन्छन्। यसको पनि उपचार गरी बाँझोपनको समस्याबाट मुक्त हुन सकिन्छ।
अन्धविश्वासका कारण बाँझोपनलाई ँदैवी श्राप’, ँपूर्वजन्मको फल’ आदि भनेर महिलाहरुलाई कतिपय सामाजिक तथा सांस्कृतिक कार्यहरुमा सम्लग्न गराइँदैन र उपचारको प्रयास पनि गरिंदैन। उपचारको प्रयास गर्दा पनि महिलाहरुको मात्र गरिन्छ। तर बाँझोपनको कारण दैवी श्राप वा पूर्वजन्मको फल नभई विभिन्न स्वास्थ्य समस्याहरु हुन् र त्यसको उपचार पनि हुन सक्छ। त्यसकारण बाँझोपनको दोष एक-अर्कालाई लगाउनुभन्दा यसलाई साझा समस्या ठानेर दम्पतीले नै उपचारको प्रयास गर्नु उचित हुन्छ।
बाँझोपनका कारण
बाँझोपनको उपचारमा लामो समयदेखि संलग्न विशेषज्ञ तथा निःसन्तान केन्द्रकी प्रमुख डा. उमा श्रीवास्तव भन्नुहुन्छ- ँबाँझोपनको समस्या स्त्री-पुरुष दुवैमा उस्तै हुन्छ र बेलैमा उपचार गरे धेरैले सन्तान प्राप्त गर्न सक्छन्।’
पुरुषमा बाँझोपनको कारण
डा. श्रीवास्तवका अनुसार विभिन्न कारणले गर्दा पुरुषमा बाँझोपनको समस्या देखिन सक्छ। शुक्रकीटको उत्पादन कम भएमा, वीर्यवाहिनी नली ट्युमर वा यौनरोग संक्रमणका कारण बन्द भएमा सन्तान प्राप्तिमा असर पर्छ। त्यस्तैगरी हर्निया, हाइड्रोसिलको अप्रेसन गरेको अवस्थामा शुक्रवाहिनी नलीमा असर पुग्न सक्छ। शरीरको विकास क्रममा पुरुष हर्मोन विकास हुने बेलामा हर्मोन असन्तुलित हुँदा अण्डकोषको विकास हुँदैन। यस्तै आमाको पेटमा हुँदा अण्डकोष शरीरभित्र हुन्छ र जन्मिदा बाहिर आउँछ। तर कसै-कसैमा बाहिर नआई भित्रै बस्छ र कसैमा आधा भित्र र आधा बाहिर हुन्छ। यस्तो अवस्थामा पनि पुरुष सन्तान उत्पादनका लागि सक्षम हुँदैन। बालक जन्मिएपछि अण्डकोष परीक्षण गरी उपचार गरेमा भविष्यमा बाँझोपनको समस्या आउँदैन। अण्डकोषको राम्रो विकास नभएको, अप्रेसनका कारण शुक्रवाहिनी नलीमा असर परेको तथा शुक्रकीट कम उत्पादन भएको अवस्थामा पनि उपचार गरी बाँझोपनको समस्या हटाउन सकिन्छ।
कहिलेकाहीँ भाइरस संक्रमका कारण पनि अण्डकोष सुकेको हुन सक्छ। हाँडेरोग भाइरसका कारणले हुन्छ। यो रोग लागेको बेला भाइरस संक्रमण भई पेटको माथिल्लो भाग तथा अण्डकोष सुन्निने, दुख्ने हुन्छ र पछि अण्डकोष सुक्दै गई पहिलेको आकारभन्दा सानो हुन सक्छ। त्यसकारण हाँडेरोग भएको बेला अण्डकोष दुखेमा, सुन्निएमा तुरुन्तै डाक्टरलाई भेटिहाल्नुपर्छ।
यस्तै शुक्रकीटहरु अण्डकोषबाट लिंगतर्फभएर आउने नली विभिन्न कारणले टालिन सक्छ। कुनै पुरुषलाई टी.बी. भएमा टी.बी.का कीटाणुहरु संक्रमण भई शुक्रवाहिनी नली टालिन सक्छ। यस्तै सिफलिस, गनोरिया, एचआईभी/एड्स आदि यौनसंर्सगबाट सर्ने यौनजन्य रोगका कारण पनि सन्तान उत्पादनमा बाधा पुग्न सक्छ। एड्सबाहेक अन्य रोगको उचार गरी सन्तान प्राप्त गर्न सकिन्छ। यौनजन्य रोगहरु पहिले नै लागेर निको भइसकेको भए तापनि ती रोगका कीटाणुले शुक्रवाहिनी नलीको प्वाल साँघुरो पार्ने वा टाल्ने काम गरेको हुन सक्छ। उपचारपछि यस्ता प्वाल खोल्न सकिन्छ।
पुरुषहरुमा सन्तान उत्पादन क्षमता नहुनुका केही अज्ञात कारणहरु छन्। यी अज्ञात कारणहरुबाहेक उल्लिखित अधिकांश समस्याको उपचार गरी समाधान निकाल्न सकिन्छ। त्यसकारण बाँझोपनको समस्या देखिनासाथ सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गरी उपचार गरिहाल्नुपर्छ।
महिलामा बाँझोपनको कारण
डा. श्रीवास्तवका अनुसार महिलामा बाँझोपन आउनुका मुख्य कारणहरुमा डिम्बको विकास समयमै हुन नसक्नु, अनियमित महिनावारी, डिम्बवाहिनी नलीको विकास हुन नसक्नु तथा रोगका कारण साँघुरिनु वा टालिनु हुन्।
डिम्बवाहिनी नली बन्द हुनुमा नलीभित्र गाँठाहरु आउनु, टी.बी.लगायत अन्य विभिन्न यौनरोगको संक्रमण पनि हुन सक्छ। यस्ता रोग लाग्नासाथ उपचार गरेमा समस्या नै आउँदैन। समस्या आइसकेको अवस्थामा बेलैमा उपचार गरी सन्तान प्राप्त गर्न सकिन्छ।
असमयमै महिनावारी बन्द भएमा वा अनियमित भएमा तुरुन्त उपचार गर्नुपर्छ। यसले भविष्यमा बाँझोपन निम्त्याउन सक्छ। विवाहअघि नै महिनावारी अनियमित भएका युवतीहरु पनि अहिले आफ्नो क्लिनिकमा उपचार गराउन आइरहेको र यसले भविष्यमा आउन सक्ने बाँझोपनको समस्यालाई घटाउने डा. श्रीवास्तवको भनाइ छ। उहाँका अनुसार गर्भाधानका लागि मुख्य भूमिका खेल्ने अण्डको विकास समयमै नुहने समस्या बाँझोपनको प्रमुख कारणमध्ये रहेको छ। यसको पनि उपचार गरी समाधान गर्न सकिन्छ।
साथै असुरक्षित गर्भपतन पनि बाँझोपनको कारण बनिरहेकाले आवश्यक परेको बेला सुरक्षित तथा स्वीकृत्रि्राप्त संस्थामा गई गर्भपतन गराउनुपर्छ। असुरक्षित गर्भपतन गराउँदा अण्डवाहिनी नली टालिने, पाठेघरमा प्वाल पर्ने भई भविष्यमा गर्भ नै नरहने हुन सक्छ।
यसबाहेक केही अज्ञात कारणहरु पनि हुन सक्छन्। सामान्यतया बाँझोपनको उपचार गरी सन्तान प्राप्त गर्न सकिन्छ तर उपचारमा ढिलाइ गर्नु हुँदैन र जथाभावी उपचार गराउनुभन्दा सम्बन्धित विशेषज्ञकहाँ नै परीक्षण तथा उपचार गराउनु उचित हुन्छ।
नेपालका पुरुष तथा महिलामा बाँझोपन देखिनुको एउटा कारण पोषणयुक्त खानाको कमी पनि हो। प्रजनन स्वास्थ्य राम्रो बनाउनका लागि पोषणयुक्त खानामा जोड दिनुपर्छ। पोषणयुक्त खाना भन्नाले रंगीचंगी र खोलमा प्याकिङ गरिएका सहरिया खाना भन्ने धेरैलाई भ्रम छ। तर स्थानीय रुपमा पाइने मकै, कोदो, गहुँ, फापर, कर्कलो, विभिन्न हरिया साग र तरकारीहरु, फलफूल, पाकेको फर्सी, भटमास, दाल आदि गेडागुडी अझ पोषिला हुन्छन्। यसका साथै मासु, माछा, अण्डा दूध पनि पोषणयुक्त खाद्यवस्तु हुन्। गाउँघरका धेरै मानिसले घरको कुखुरा, अण्डा, मेवा, केरालगायत मौसमी फलफूल, साग, तरकारी, दूध घिउ बेचेर सहरका भिटामिन, हर्लिक्स, चाउचाउलगायत विभिन्न खाद्यवस्तु किनेर उपभोग गरेको देखिन्छ। यो ज्यादै गलत विश्वास हो।
साथै लागूपदार्थको दुर्व्यसन, धूमपान, मादकपदार्थको अधिक सेवनले पनि बाँझोपनको समस्या निम्त्याउन सक्ने भएकाले यस्ता कुलतबाट पनि बच्नुपर्छ। टी.बी. र यौनजन्य रोगहरुको बेलैमा उपचार गराएमा धेरै हदसम्म बाँझोपनबाट बच्न सकिन्छ।
बाँझोपनको उपचार
सम्बन्धित चिकित्सकहरुका अनुसार अधिकांश बाँझोपनको उपचार हुन्छ। अझ छिटो गर्न सके उपचार प्रभावकारी पनि हुन्छ, तर उपचार गराउन दम्पती नै जानुपर्छ। बाँझोपनको शंका हुनासाथ नजिकको स्वास्थ्य संस्थामा परामर्श गरी स्त्रीरोग विशेषज्ञकहाँ जँचाउनु राम्रो हुन्छ। त्यसमा पनि बाँझोपनको उपचारमा संलग्न विशेषज्ञकहाँ उपचार गराउनु बढी प्रभावकारी हुन्छ।
परिवार स्वास्थ्य महाशाखाकी स्त्रीरोग विशेषज्ञ डा. शीलु अर्यालका अनुसार सबै सरकारी स्वास्थ्य संस्थाहरुबाट प्रजनन स्वास्थ्यसम्बन्धी सामान्य परामर्श सेवा पाइने भए तापनि उपचारात्मक सेवा अञ्चल तथा क्षेत्रीय अस्पतालहरुबाट प्राप्त गर्न सकिन्छ। यसका साथै प्रसूति गृह थापाथलीमा बाँझोपनसम्बन्धी विशेषज्ञ सेवा प्राप्त गर्न सकिन्छ। यहाँ बाँझोपनसम्बन्धी क्लिनिक सञ्चालित छ।
सरकारले प्रजनन स्वास्थ्यका आठवटा मूल विषय तथा क्षेत्रहरु तोकेको र त्यसमा बाँझोपन (Sub fertility) समावेश भए तापनि उपचारात्मकबाहेक अन्य सेवा उपलब्ध गराएको छैन। तर निकट भविष्यमा नै २४ वटा जिल्लामा स्वास्थ्यकर्मीहरुलाई तालिम दिएर यससम्बन्धी परामर्श दिने, तहगतरुपमा सुविधाअनुसार सेवा दिने तयारी गरिएको डा. शीलु अर्यालले जानकारी दिनुभएको छ।
यस्तैगरी नेपाल परिवार नियोजन संघले आफ्ना कार्यक्रम भएका ३२ वटा जिल्लामा ६५१ वटा क्लिनिकहरुमा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या लिएर आउनेहरुलाई परापर्श दिने र आवश्यकतानुसार विशेषज्ञ भएका ठाउँमा पठाउने गरेको संघका कार्यक्रम निर्देशक डा. गिरिधारी शर्मा बताउनुहुन्छ। उहाँका अनुसार सन् २००६ मा संघको क्लिनिकहरुमा सेवा लिन आएका १३ लाख सेवाग्राहीमध्ये करिब २० हजार ८ सय जनालाई बाँझोपनसम्बन्धी परामर्श दिइएको थियो।
त्यस्तैगरी स्त्रीरोग विशेषज्ञ भएका विभिन्न निजी अस्पताल तथा नर्सिङहोमहरुबाट पनि बाँझोपनसम्बन्धमा परामर्श तथा उपचार सेवा प्राप्त गर्न सकिन्छ। काठमाडौंका निःसन्तान केन्द्र र ओम अस्पतालले बाँझोपनको उपचारमा विशेषज्ञ सेवा उपलब्ध गराइरहेका छन्। अन्य औषधि उपचारबाट सन्तान प्राप्त नभएका अवस्थामा यी दुई स्वास्थ्य केन्द्रबाट आईभीएफ (टेस्टट्युब बेबी) प्रविधिको सेवा पनि लिन सकिन्छ। यी स्वास्थ्य केन्द्रमा टेस्टट्युब बेबी सेवा लिएर पनि धेरैले सन्तान प्राप्त गरिरहेका छन्।
महिलाहरुको अण्डवाहिनी नली बन्द भई बाँझोपन भएको अवस्थामा नलीको अप्रेसन गरी खोल्ने प्रयास भएको पनि पाइन्छ। यो विधि खर्चिलो भए तापनि त्यति प्रभावकारी नभएकोले निःसन्तान केन्द्रले यसको वैकल्पिक उपचारका रुपमा अप्रेसन नगरी नली खोल्ने उपचार पद्धति सुरु गरेको केन्द्रका प्रमुख डा. उमा श्रीवास्तव बताउनुहुन्छ।
बाँझोपनको सामान्य उपचार त्यति खर्चिलो नभए पनि यसको विशेषज्ञ उपचार अलि खर्चिलो छ। त्यसैले कतिपय दाम्पतीले उपचार सुरु गरे पनि उपचार बीचैमा छोड्ने गरेको डा. श्रीवास्तव बताउनुहुन्छ। उपचार गर्दा सबै परीक्षण नगरी हुँदैन। यसले बिरामीलाई भार पर्ने भएकाले यस्ता समस्या परेकालाई सरकारले पनि केही सहयोग गर्नुपर्ने डा. श्रीवास्तवको धारणा छ।
चाहेको बेला गर्भधारण गर्नु, सन्तान जन्माउन पाउनु महिलाको मौलिक अधिकार भएझैं सन्तान नभएका अवस्थामा सन्तान प्राप्तिको उपाय खोज्न पाउनु पनि महिलाको अधिकार हो। त्यसकारण बाँझोपनका कारण सन्तान प्राप्त नभएमा दम्पतीले समयमै उपचार सेवा लिएर सन्तान प्राप्तिको अवसर उपयोग गर्नुपर्छ। बाँझोपन पुरुष र महिला दुवै वा कुनै एक जनामा भएको स्वास्थ्य समस्याका कारण हुने भएकाले दम्पतीले नै स्वास्थ्य परीक्षण गरी उपचार गर्नुपर्छ। बाँझोपनको रोकथाम तथा उपचारका लागि सरकारले पनि विशेष कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक छ।

Advertisements

April 21, 2010 - Posted by | Health

No comments yet.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: